31
Jan
09

“यसरी भएको रहेछ उमा सिंहको हत्या”

जनकपुरकी पत्रकार उमा सिंहलाई सरकारले पहिलो पत्रकार शहीद घोषणा गरिसकेको छ। 1234पत्रकारहरु द्वन्द्वका क्रममा अरु पनि मारिएका छन् सरकार र तत्कालीन विद्रोही दुवै पक्षका। तर राज्यबाट शहीदको औपचारिक दर्जा पाउने भने उमा सिंह मात्रै हुन्। हुन पनि पापीहरुले निकै डरलाग्दो किसिमले सामान्य मानिसले कल्पना पनि गर्न नसक्ने किसिमबाट खुकुरीले जथाभावी हानेर उनको हत्या गरेका थिए।

तर ‘पत्रकार शहीद’ को हत्या पछाडिको कारण भने पारिवारिक रिसइबी रहेको खुल्न आएको छ। अर्थात् उनको हत्या पत्रकार भएकै कारणले भएको हैन रहेछ। केही दिनअघि मात्रै राष्ट्रिय मानवअधिकार आयोगले पत्रकार भएकै कारण मात्र उनको हत्या नभएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको उल्लेख गरेको थियो। हिजो प्रहरीले पनि आफ्नो अनुसन्धानबाट यस्तै देखिएको जिकिर गरेको छ। आखिर कसरी र किन भएको रहेछ त उमाको हत्या, प्रहरीको अनुसन्धानले यसो भन्छ-

उनको हत्या सम्पत्ति विवाद र पारिवारिक झगडाका कारण गरिएको हो। प्रहरीले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक यादवराज खनालले सम्पत्ति हत्याउने नियतले सिंहको हत्या गरिएका आधार फेला परेको बताए। 12345

घटनाको पृष्ठभूमि यस्तो रहेछ-उमाका पिता र दाइलाई द्वन्द्वकालमा माओवादीका कार्यकर्ताहरुले बेपत्ता बनाएका थिए। अहिलेसम्म उनीहरुको खोजखबर छैन। पिता र दाजु नभएपछि सम्पतिको वारेस उमा नै थिइन्। तर, छिट्टै नै उमाको विवाह हुन लागेको थियो। विवाह भएपछि सम्पति सबै उमाले लैजाने देखेर उनकी भाउजु ललितादेवी चिन्तित भएकी रहिछिन्।

ललितादेवीले उमाको नाममा रहेको १२ कठ्ठा जग्गा आफ्नो नाममा गरिदिन उमाकी आमा सुशीलालाई पटक पटक धम्क्याएकी रहिछिन्। आफूले मात्र नधम्क्याएर उनले आफ्ना नजिकका साथी श्रवण यादव र स्वामीजी यादव भनिने उमेश यादवलाई पनि थर्काउन लगाएकी रहिछिन्। श्रवण यादव माओवादीका सिराहा जिल्ला क्षेत्र नम्बर ५ का इञ्जार्ज हुन् भने स्वामीजी यादव तराई एकता परिषद्‍का अध्यक्ष हुन्।

यिनै स्वामीजीले एक स्थानीय सञ्चारकर्मीलाई फोन गर्दै ‘गल्तीले मार्न पुगेको’ भन्दै हत्याको जिम्मा लिएका थिए। उनले एनटिभीका स्थानीय सञ्चारकर्मीलाई गरेको प्रिपेड मोबाइल नम्बर कै आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

प्रहरीका अनुसार हत्याका प्रमुख योजनाकार उमाकी भाउजु ललितादेवी हुन्। उनले श्रवण यादव र स्वामीजी यादवलाई प्रयोग गरेका हुन्। योजना अनुसार उमाको हत्या गर्न स्वामीजीलाई साढे एक लाख रुपैयाँ दिने सहमति गराउन श्रवणको प्रमुख भूमिका थियो।

हेर्नुस् त, साढे एक लाख रुपैयाँका लागि कति विभत्स हत्या गरेका उनीहरुले। उमा सिंहको शरीर भरी खुकुरीले काटेका घाउ थिए। रक्तस्राव नरोकिएर छटपटाउँदै उमाले प्राण त्याग्नु परेको थियो।

प्रहरीले हत्यामा संलग्न भएको आशङ्कामा ललिता, श्रवण, नेमलाल, अभिषेक सिंह र विमलेश झालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताएको छ।

 

श्रोत : माइ संसार डट कम

टिप्पणी छोड्नुहोस्